काठमाडौं,१४ चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले इलाम २ को आसन्न उपचुनावमा आफ्नै उम्मेदवार उठाउने भएको छ । समाजवादीले इलाममा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य रहेका राई गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको माई जोगमाई गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका जीतबहादुर एमालेका कुशबहादुर थेबेसँग २२२ भोटले पराजित भएका हुन् । थेबेले ५ हजार १३५ मत ल्याउँदा राईले ४ हजार ९१३ मत पाएका थिए ।
सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा नेकपा एमालेले उनै सुवासका कान्छा छोरा सुहाङलाई उठाउने निर्णय गरिसकेको छ । गठबन्धनकै घटक माओवादीले आज यहाँ आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको छ । पहिचानवादीले डाकेन्द्र थेगिमलाई उम्मेदवार बनाउने भएको छ ।