काठमाडौं,१४ चैत । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणमा शंकास्पद भूमिका देखिएपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्रियको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आईजीपी कुँवरले सो बताएका हुन् । महराले पीएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताए । “माननीय कृष्णबहादुर महराको विषय छ । आयोगको सिफारिस अध्ययन गर्यौँ । उहाँको स्वास्थ्यका कारण लिवरल हुने नै भन्ने थियो । तर, हामीलाई आभास भयो कि पक्राउ गर्नुपर्ने हो कि भन्ने त्यसैले ल्याइएको हो,” आईजीपी कुँवरले भने, “पीएसओ र गाडी छोडेर हिँड्नुभएको अवस्था थियो । त्यसपछि पक्राउ आवश्यक देखियो ।”
उनले अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए । “अदालतले पनि अस्पतालमै राखेर मुद्दाको कारबाही अघि बढाउनु भनेको र हिरासतमा बस्दा बस्दै अर्को घटना नहोस् भनेर छाडिएको हो,” कुँवरले भने, “हामी दबाब प्रभावमा परेको होइन ।”
त्यस्तै कुँवरले बाँसबारी जग्गा प्रकरणको अनुसन्धान भईरहेको पनि बताएका छन् । “विनोद चौधरीको पासपोर्ट सिजको विषय आयो, जालसाजी किर्ते र ठगिको मुद्दा थियो । किर्तेका कारणले यसको कोर्स अलग छ । सिजको कुरा हैन,” उनले भने, “सभामुखलाई पत्र लेखको कुरा उठ्यो । एक दिनबवयान सकिन्छ भने नगरौं भनियो तर, अतिरिक्त संवेदनशील भएर काम गरेका हौं । किर्तेमा अनुसन्धान जारी छ एक वर्षसम्म पनि रहन्छ ।”