Logo

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई



काभ्रेपलाञ्चोक, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन् ।

बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताए । उनले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने बताए । “यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ”, मन्त्री राईले भने, ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन् ।” नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाले नगर स्थापनाको दिन खुसीको क्षण भएकाले कला, संस्कृति, प्रकृति, खानी, पानी, बसोबास, सरसफाइ सबै क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताए । बढ्दो बस्ती विकासले सहरी फोहर पनि बढ्दै गएको भन्दै व्यवस्थित फोहर विसर्जन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।

्सांसद बास्कोटाले अहिलेको चुनौती जलवायु परिवर्तन भएको बताउँदै त्यसलाई मानव विकास, सभ्यताका सूचाङ्कलाई नागरिक र जनप्रनितिधिको सहकार्यबाट समाधान गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot