Logo

बिआरआइलाई मानवता, भ्रातृत्व र विकास साझेदारीको पहलकदमीका रूपमा लिएका छौंः उपप्रधानमन्त्री श्रेष्ठ



छोनछिन (चीन), १४ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए ।

‘चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोश्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा व्यापारलाई साथसाथै अघि बढाउनुपर्छ,’– उनले भने ।

आगामी महिना नेपालमा लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले चिनियाँ लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन लामो समयदेखि असल सम्बन्ध भएका मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध पञ्चशिलको सिद्धान्तमा आधारित रहेको बताए ।

उनले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेको समेत उल्लेख गरे । द्विपक्षीय सम्बन्धलाई उचाइमा लैजान तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन उच्चस्तरको भ्रमणले इटा थपेको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसाइटिभ (बिआरआइ) कार्यान्वयन कार्ययोजनामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको उल्लेख गर्दै मानवता, भ्रातृत्व र विकास साझेदारीको पहलकदमीका रूपमा बिआरआइलाई लिएको बताए ।

एक चीन सिद्धान्तप्रति नेपालको अटल प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले तिब्बत र ताइवान चीनको अभिन्न अङ्ग भएको बताए । नेपाल र नेपाली भूमि भएर चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपालले जहिले पनि चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

भेटवार्तामा छोनछिन पार्टी सचिव युयानले छोनछिन–काठमाडौँ सातामा दुई हवाई उडान हुने गरेको उल्लेख गर्दै छोनछिन र नेपालबीच सम्पर्क सञ्जाल अभिवृद्धि गर्न तयार रहेको बताए । उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने विश्वास दिलाए ।

गुणस्तरीय आर्थिक विकासमार्फत सामाजिक विकासका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै विकासका लागि साझेदार गर्न छोनछिन इच्छुक रहेको बर्ताए । पार्टी सचिव युयानले कृषि, शिक्षा, प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा सहकार्य गर्न सकिने बताए । छोनछिनमा १७ नेपाली विद्यार्थी अध्यान गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा थप छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गरे ।

नेपालमा चिनियाँ नागरिकलाई भ्रमण गर्न प्रोत्साहित गर्ने उल्लेख गर्दै उनले छोनछिन सहर र नेपालको भरतपुर महानगरसँग भगिनी सम्बन्ध राख्न चाहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय अगाडि छोनछिन सहरको भ्रमण गर्नुभएको स्मरण गर्दै उनले उच्चस्तरमा हुने भ्रमणले दुई मुलुकबीचको सम्बन्ध प्रगाढ हुने बताए ।

छोनछिन स्टेट गेस्ट हाउसमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उनीहरूबीच चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीचको सम्बन्धलाई प्रगाढ बनाउने बारेमा छलफल भएको थियो । छोनछिन चीनको पश्चिम भागमा पर्छ । छोनछिन चीनकै धेरै जनसङ्ख्या भएको ठूलो सहर हो । यहाँको जनसङ्ख्या तीन करोडभन्दा बढी छ ।



प्रतिक्रिया दिनुहोस्