Logo

केन्द्रको निर्णय मान्दैनौं, सुदूरपश्चिम सरकार छाड्दैनौंः नाउपा नेता चौधरी



काठमाडौं, १५ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लक्ष्मण किशोर चौधरीले आफूहरुले प्रदेशको सत्ता भत्काउने अपजस नलिने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेशका सबै सांसदहरुको सहमतीविना केन्द्रको निर्देशनकै भरमा सरकारबाट नबाहिरिने बताएका हुन् ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका चौधरीले हिजोको बैठकमा प्रदेश समितिको राय सल्लाहविना एकोहोरो निर्णय भएको बताए । ‘सरकार ढाल्ने ढलाउने कुराको अपजस नागरिक उन्मुक्ति पार्टीले लिन चाहँदैन,’– उनले भने ।

मन्त्री चौधरीले रेशम चौधरीसहितको बैठकले गरेको निर्णमात्रै मान्य हुने बताए । उनले रेशम बाहिर भएको बेला गरिएको यस्तो निर्णयले शंका उब्जिएको बताए । अहिले सरकार छाड्ने र नयाँ गठबन्धनमा सामेल हुने कुरामा सीमित मानिसहरुको सक्रियता देखिएको उनको भनाइ छ ।

‘रेशम चौधरीको उपस्थितिमै आधिकारिक निर्णय हुनसक्छ । रेशम चौधरी बाहिर रहेको बेलामा सबै कुरा एकाएक ल्याउनुले चाहीँ शंका उत्पन्न गर्दछ । सीमित व्यक्तिहरु मात्रै यसमा सक्रिय भएको देखिएकाले त्यो कुरा बुझ्नमात्रै म त्यहाँ उपस्थित भएको थिए,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्