Logo

यो गठबन्धनले पनि काम गर्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनले पनि काम गर्न नसके आफू पद ओगटेर बस्ने पक्षमा नरहेको जिकिर गरेका छन् ।

सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिणाम देखिनेगरी काम गर्नकै लागि नयाँ सत्ता समीकरण बनाएको भन्दै आफू पद ओगटेर बस्ने पक्षमा नरहेको दाबी गरेका हुन् ।

‘सुशासन कायम गरेर विकासलाई गति दिने कामलाई पनि भएका छन्। अहिले समीकरण चेन्ज भएको छ। गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो। उथलपुथल त मैले भनेको थिएँ। म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो अरूलाई भनेको होइन। मेरै लागि भनेको हो’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले पुँजीगत खर्च कम हुनु चुनौतिपूर्ण रहको बताए । “चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारको पुँजीगत खर्च समग्रमा कम रहनु हाम्रा लागि चिन्ताको विषय हो”, प्रधानमन्त्री दाहालले भने, “पुँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिने बारेमा गम्भीर भएर सोचौँ । यो समस्याको समाधान यस आवको बाँकी अवधिमा गर्नैपर्छ ।”

पुँजीगत खर्च बढाउन विभिन्न उपाय कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको परिप्रेक्ष्यमा उपलब्ध भएको बजेट पूर्णरूपमा खर्च हुने गरी विकास निर्माणका कार्यको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई उनले निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाले तुलनात्मक रूपमा राम्रो गरेको अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासील गर्ने सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी कोरिडोर र लुम्बिनी क्षेत्र विकास कोषलगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले ती आयोजनाका साथै अन्य सबै आयोजनालाई बाँकी अवधिमा शतप्रतिशत नतिजा प्रदान गर्न निर्देशन पनि दिएका छन् । 



प्रतिक्रिया दिनुहोस्