Logo

पत्रकार पोखरेलमाथि निर्घात कुटपिट गर्ने काठमाडौं महानगर प्रहरी उपरीक्षक लामिछानेसहितको टोलीविरुद्ध जाहेरी



काठमाडौं, १५ फागुन । पत्रकार पदमप्रसाद पोखरेलले काठमाडौं महानगर प्रहरी बल, नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछानेसहित उनको कमाण्डमा खटिर आफूमाथि कुटपिट गर्ने नगर प्रहरीहरुविरुद्ध जाहेरी दर्ता गराएका छन् । पत्रकार पोखरेलले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी उपरीक्षक लामिछानेको कमाण्डमा खटिएका नगर प्रहरीविरुद्ध अंगभंग, आपराधिक बल प्रयोग, क्षतिपूर्ति तथा यातना सम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको बताएका हुन् ।

गत फागुन १६ गते सुनधारा क्षेत्रमा काठमाडौं महानगर प्रहरीको टोलीले उनलाई अंगभंग हुनेगरी कुटपिट गरेको थियो । महानगर प्रहरीको आक्रमणबाट घाइते भएका पत्रकार पोखरेलले आफूले काठमाडौं महानगर प्रहरीबाट अनाहकमा शारीरिक, मानसिक र आर्थिक क्षति व्यहोर्नु परेको बताए । प्राण मञ्च अनलाईन डटकमका प्रधान सम्पादक रहेको पोखरेललाई महानगर प्रहरीले निर्घाट कुटपिट गरेको थियो । आफूले विगतका केही वर्षदेखि दाङलाई केन्द्रविन्दु बनाएर पत्रकारिता गर्दै आएको बताए । सूचना विभाग र प्रेस काउन्सिलमा केही संस्थागत काम भएर आफू सो समयमा काठमाडौं आएको उनले बताए । काठमाडौंबाट घर फर्किने क्रममा पठाओ कुरिराखेको अवस्थामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीचको झगडाको फोटो तथा भिडिओ खिचेकै निहुँमा आफूमाथि आक्रमण भएको उनले बताए ।

‘फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच एक्कासी होहल्ला निस्कियो धराहराको अगाडि । म संयोगले. त्यहाँ थिए । मैले के रहेछ त विषय वस्तु भनेर मोबाइल निकाले फोटो र भिडिओ लिने क्रममा म माथि अमानावीय ढंगले आक्रमण गरियो ।’ उनले भने, ‘मेरो दायाँ खुट्टामा चोट लाग्यो । मोबाइल खोसियो, झोला खोसियो । प्रेस कार्ड देखाउँदा पनि कुटपिट भयो । त्यहाँबाट फुत्किएर न्युरोड बजारको गेटमा पुग्दा पनि त्यहाँबाट कुटपिट गरेर महानगरको गाडीमा हाले ।’

आफूलाई नियन्त्रणमा लिएपछि पनि अमानवीय व्यवहार भएको उनले बताए । आफूलाई ‘त मर्छस् अब, डम्पिङ साइट पठाउँछौं’ लगायतको धम्की दिएको उनको भनाइ छ । महानगर प्रहरीले कानुन हातमा लिएर आफूमाथि कुटपिट र अमानवीय व्यवहार गरेको उनले बताए । पत्रकार पोखरेलले आफ्रू अहिले पनि हिँड्न नसक्ने अवस्थामा रहेको उनले बताए । दायाँ खुट्टाको मासु फाटेको कारण दैनिक जीवन नै अस्तव्यस्त बनेको उनको भनाइ छ ।

घटनाको पाँचौ दिनमा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियाससहितको टोलीसँग वार्ता भएपनि आज २८ दिनसम्म कुनै सुनुवाइ नभएको उनको गुनासो छ । आफू विरुद्धको आक्रमणमा महानगरको दुषित मनसाय रहेकाले जाहेरी दिइएको उनले बताए । पत्रकार पोखरेलले बालेन प्रशासनलाई सबक सिकाउन पर्छ भनेर फागुन २९ गतेदेखि चैत ४ गतेसम्म रिले अनुसन गरेको बताए । उनले महानगरले वार्ताका क्रममा घाइतेको उपचार, खोसिएको सञ्चार सामाग्रीको क्षतिपूर्ति र घटनामा संलग्न प्रहरीलाई कारबाही गर्ने, घटनाको छानविन गरेर तथ्यगत रिपोर्ट सार्वजनिक गर्ने भनेर छानविन समिति बनाउने सहमति भएको भएपनि कुनै पनि कार्यान्वयन नभएकाले जाहेरी दर्ता गराएर काुननी लडाइँमा होमिएको बताए । महानगरले सम्झौतासँगै आफूविरुद्ध षड्यन्त्र गर्न खोजेको उनको बुझाइ छ ।

श्रमजिवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले काठमाडौं महानगर प्रहरीले पत्रकारमाथि यसरी निर्घात कुटपिट र अमानवीय व्यवहार गर्नु दुःखद् रहेको बताए । उनले पीडितसँग गरेको सम्झौता कार्यान्वयनमा महानगर प्रशासनले कुनै चासो नदेखाएको बताए ।

‘तपाईँमाथि कुटपिट भएको देखियो । यसका लागि महानगर क्षमाप्रार्थी छ । आइन्दा यस्ता कार्य महानगरबाट हुनेछैन । त्यो खालको प्रतिवद्धतासहित उहाँलाई न्याय दिने हिसाबले अध्ययन समिति बनाउने लिखित सम्झौता भयो । शुक्रबारसम्म छानविन समितिले रिपोर्ट ल्याउने र त्यो रिपोर्टका आधारमा उहाँलाई क्षतिपूर्ति दिने, न्याय दिलाउने प्रतिवद्धता थियो ।’ उनले भने, ‘त्यो पनि पुरा भएन । त्यो नभएपछि उहाँले आज टेकुस्थित महानगरीय प्रहरी वृत्त कार्यालयमा नगरप्रहरी मनोज लामिछानेका विरुद्ध किटानी जाहेरी आज उहाँले दिनु भएको छ ।’

पत्रकारहरुमाथि कुनै पनि हिसाबले आक्रम हुने कुरा आफूहरुलाई सह्य नहुने उनले बताए । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पनि पत्रकारमाथिको आक्रमणलाई सच्याउने कुरामा गम्भीर नभएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्