Logo

बीडी त्यागी स्मृति सम्मान प्रतिभा चयन



काठमाडौं, १५ चैत । एक्काइसौं बीडी त्यागी स्मृति दिवसको अवसर पारेर हरेक वर्ष झैँ यो वर्ष पनि बीडी त्यागी स्मृति केन्द्रले पाँच प्रतिभालाई ‘बीडी त्यागी स्मृति सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । आज केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको कार्य समिति बैठकले बीडी त्यागी स्मृति सम्मान २०८१ वरिष्ठ साहित्यकार प्रा.डा.हेमनाथ पौडेललाई प्रधान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बीडी त्यागी विशिष्ट सम्मान २०८१ वरिष्ठ साहित्यकार डा.विदुर चालिसेलाई, एक सय एक रुपैयाँ सिक्का रहेको थैलीसहित बीडी त्यागी स्मृति पुरस्कार २०८१ वरिष्ठ साहित्यकार बियोगी बुढाथोकीलाई, बीडी त्यागी प्रतिभा सम्मान २०८१ साहित्यकार विसुकुमार केसीलाई र बीडी त्यागी योगदान सम्मान २०८१ गीतकार तथा महिला उद्यमी कमला श्री थापालाई प्रदान गरिने भएको छ ।

संस्थाको सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको हो । आगामी बैशाख १९ गते एक कार्यक्रमबीच ती सम्मानहरु अर्पण गरिने केन्द्रका महासचिव निबन्ध आचार्यले जानकारी दिए ।

१०८ स्वामी गिपलानन्द परिचयात्म काव्य, बन्द झ्यालको शीशा भित्र कथा सङ्ग्रह ,बैराग्य नाटक,उत्पात उपन्यास ,शुभेच्छा कवितात्मक एल्बम,अठार अध्याय गीता महात्म्य,धिती न टोपी लोककथा सङ्ग्रह,समृद्धि सपना उपन्यास र चार थुम्का उपन्यास सङ्ग्रह प्रकाशित गरिसकेका साहित्यकार बीडी त्यागीको २०६० साल बैशाख १९ गते निधन भएको थियो । २०६१ सालदेखि उनको स्मृतिमा सम्मान अर्पण गर्ने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्