Logo

जम्कट्टेलको कुर्सी जोगाउन खोजेको भन्दै हानेपामा रडाको, बज्राचार्यलाई कारबाही गर्ने घिमिरेको चेतावनी



काठमाडौं,१६ चैत ।अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेल नेतृत्वको सरकारमा सामेल भएको भन्दै हाम्रो नेपाली पार्टी (हानेपा)मा रडाको देखिएको छ ।

बिहीबार साँझ अचानक हानेपा बागमती प्रदेशका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य संस्कृति पर्यटन मन्त्रीको रुपमा बागमती सरकारमा सामेल भएका थिए । नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले हानेपालाई भित्र्याएर सरकार जोगाउन खोजका थिए । २ सांसदसहित निर्णायक रहेको हानेपा सरकारमा सामेल भएपछि मुख्यमन्त्रीलाई बहुमत जुटेको थियो ।

तर एकाएक समर्थन फिर्ता लिएको २ दिनमा नै पुनः सरकारमा सामेल भएको भन्दै हानेपाका अध्यक्ष अनन्तराज घिमिरेले मन्त्री बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका छन् । घिमिरेले आज हेटौंडामा पत्रकारक सम्मेलनको आयोजना गर्दै आफ्ना सांसदलाई राजनीतिक अपहरण गरेको दाबी गरेका छन् ।

‘पार्टीमा छलफल हुँदै गर्दा राजनीतिक अपहरण शैलीमा सरकारमा सहभागी गराइयो। बिहान ११ बजेदेखि उहाँ (शैलेन्द्रमान) हाम्रो सम्पर्कमा रहनुभएन’, अध्यक्ष घिमिरेले भने, ‘११ बजे अपहरणमा पर्नुभयो। साँझ सिधै मन्त्रीको शपथ ग्रहण गरेको समाचार आयो। राजनीतिक अपहरण गरेर मन्त्री बनाउँदैमा सरकारलाई विश्वासको मत दिइँदैन।’

अध्यक्ष घिमिरेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने पार्टीको निर्णय विपरीत बज्राचार्य लागेको आरोप लगाए । उनले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । यद्यपि, सपथ लिएपछि बज्राचार्यले पार्टीको सल्लाहमै मन्त्री नियुक्त भएको बताएका थिए ।

बागमती प्रदेश सभामा हानेपासँग दुई सिट छ। गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन्।



प्रतिक्रिया दिनुहोस्