काठमाडौं, १७ चैत । नेकपा (एमाले) का नेता भीम आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरुले स्टन्टबाजी गरेको टिप्पणी गरेको छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रीहरुले स्टन्टबाजी गर्ने र जस लिन कुद्ने भन्दा पनि रिजल्टबेस काममा ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।
‘सरकार भर्खर गठन भएको छ । यसको मूल्याङ्न गरिहाल्ने बेला भएको छैन । मन्त्रीहरुले कामलाई भन्दा बढी स्टन्टबाजी गरे भन्ने बाहिर गुनासो छ । त्यो कुरालाई सच्याएर बढी स्टन्टबाजी गर्ने, बढी सो गर्ने, बढी होडबाजी गर्ने, जस लिन कुद्ने भन्दा पनि कामबाट परिणाम देखाउनेतिर लाग्नुपर्छ,’– उनले भने ।
स्टन्टबाजी गरेर परिणाम ननिस्किने र जनतालाई भुल्याउने कुरा पनि क्षणिक हुने उनको भनाइ छ । दीर्घकालीन ढंगले जनतालाई आफ्नो पक्षमा लिनका लागि परिणाममुखी काम गर्नुको विकल्प नरहेको उनको भनाइ छ । एमालेले अहिले कुनै पनि दलसँग एकता गर्ने सम्भावना नरहेको उनले बताए ।