काठमाडौं । महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् ।
संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरेको हो । महालेखापरीक्षक एक वर्षदेखि रिक्त रहेको थियो ।
७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको हो । राजनीतिक दलहरूबीच संवैधानिक नियुक्तिमा सहमति नजुटेका कारण महालेखापरीक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
संवैधानिक परिषद्को सचिवालयले २० साउन २०८० मा महालेखापरीक्षक नियुक्तिका लागि आवेदन मागेको थियो । २ भदौसम्म १६ जनाले महालेखापरीक्षक बन्न दाबी गरेका छन् । त्यसरी दाबी गर्ने १६ मध्ये १२ जना सरकारी कर्मचारीहरू नै हुन् ।
संविधानको धारा २४० अनुसार, महालेखापरीक्षकका लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेका वा लेखा परीक्षणसम्बन्धी काममा कम्तीमा २० वर्षको अनुभव प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ ।