काठमाडौं, १८ चैत । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समितिको माग गर्दै आज पनि केही समय संसद् अवरोध गरेको छ । आज (आइतबार) संघीय संसद् भवन नयाँ वानेश्वरमा प्रतिनिधि सभाको बैठक प्रारम्भ भएलगत्तै कांग्रेसका सांसदहरुले अवरोध गरेका थिए । कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले सञ्जयकुमार गौतमलाई समय दिए ।
गौतमले सुशासनको नैतिकता बहन गर्न नसक्ने सरकारले मुलुकलाई अग्रगमनतर्फ लिएर जान नसक्ने दाबी गरे । उनले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न समिति नबने संसद अवरुद्ध गर्ने उनको चेतावनी छ ।
‘जुन सरकार सुशासनको नैतिकता बहन गर्न सक्दैन, कसरी यो मुलुकलाई अग्रगमनमा लिएर जान सक्ला ? प्रमुख प्रतिपक्षीको रुपमा हामीले उठाएको यो मुद्दामा सरकार गम्भीर बनोस् ।’ उनले भने, ‘संसदीय समिति बनाओस्, चाँडोभन्दा चाँडो निश्कर्षमा पुगोस् । होईन भने हामी यो मुद्दा बारम्बार उठाइराख्ने छौं । हामीले आम जनताका बीचमा यो मुद्दालाई लिएर जानेछौं । हामी चाहँदैनौं रोस्टममा पुगौं, अवरोध गरौं । यो स्वार्थको द्वन्द्वको विषय गम्भीर छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिओस् ।’
गृहमन्त्री लामिछानेमाथि पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन गरको आरोप छ । साथै, गृहमन्त्री लामिछाने र उक्त सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई विगतमा गोर्खा मिडिया नेटवर्कको शेयर धनी भएकाले पनि उनीमाथि प्रश्न उब्जिएको छ । उक्त सहकारीको मोटो रकम गैरकानुनी रुपमा गोर्खा मिडियामा लगानी भएको समेत खुल्न आएको छ ।