काठमाडौं,१८ चैत । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो कमजोरी लुकाउन विभिन्न बाहना बनाएको आरोप लगाएकी छन् ।
आइतबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै सांसद विकले कानूनले तोकेका सबै अपराध नियन्त्रण गर्छु भन्नेहरुले नै नियम मिच्दै गएको बताईन् । उनले सुन, यति र ओम्नी खाने शक्तिशाली माछाले सहकारीको रकमसमेत खाएको भन्दै गृहमन्त्रीप्रति कटाक्ष गरिन् ।
‘नेपालले शक्तिशाली माछा उत्पादन गरेको रहेछ । किलोका किलो सुन, गिरीबन्दु टी स्टेट, ललिता निवास, यति ओम्नी खाने । हुँदा हुँदा सहकारीमा ज्याला मजदुरी गरेर बचत गरेको रकम पनि माछाले निल्न छोडेनन्,’ उनले भनिन् ।
लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको भन्दै नैतिक प्रश्न उठाउनुको अर्थ नभएको सत्ता पक्षको तर्क छ । सांसद विकले लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर नगरेको दाबी गरिन् ।