काठमाडौं, १८ चैत । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत नदिने भएको छ । आज (आइतबार) बसेको कांग्रेस बागमती संसदीय दलको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकमा सबै सांसदहरुलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ । मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभाबाट भोलि (सोमबार) विश्वासको मत लिँदैछन् । गत २०७९ मा सम्पन्न आम निर्वाचनपछि बनेको बागमती सरकारमा जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
पछिल्लो पटक सत्ता समीकरणमा आएको उलटफेरको प्रभाव प्रदेशमा पनि देखा परेको छ । केन्द्र सरकारबाट बाहिरिएपछि कांग्रेसले बागमतीमा पनि समर्थन फिर्ता लिएको थियो ।
११० सदस्यीय बागमती प्रदेश सभामा जम्मकट्टेललाई विश्वासको मतको पक्षमा ५६ जना सांसदको समर्थन आवस्यक छ । बागमती सरकारमा सहभागी दलहरु नेकपा (एमाले) को २७, माओवादीको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट गरी ५७ सिट छ । कुनै नाटकीय उलटफेर नभएको खण्डमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित छ ।
बागमतीमा अहिले कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी प्रतिपक्षमा छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सांसद विश्वासको मतको विपक्षमा छन् ।