काठमाडौं,१९ चैत । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बन्द गरिएकोबारे शिक्षामन्त्री सुमना श्रेष्ठसँग जवाफ माग गरेकी छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेपालकै पहिलो महिला नगरप्रमुखसमेत बनेकी सेजुवालले दुर्गमका विद्यार्थीलाई बरदान बनेको सो कार्यक्रम लहडका भरमा बन्द गरिएको भन्दै जवानफ माग गरेकी हुन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देशैभरी सो कार्यक्रम लागू भएको थियो । तर, हालै मन्त्री नियुक्त भएकी श्रेष्ठले सो कार्यक्रम रद्द गरेकी थिईन् ।
‘दुर्गमका अभिभावक र शिक्षकले प्रश्न गरिरहेका छन् किन बन्द गरियो । गुणस्तरीय शिक्षा दिन भवन चाहिन्छ कि चाहिँदैन ? वार्षिक परीक्षा चौरमा दिन बाध्य छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम किन बन्द भयो जवाफ शिक्षामन्त्रीले दिनुपर्छ,’ उनले भनिन् ।