काठमाडौं,१९ चैत । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।
एकीकृत समाजवादीले लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताउँदै आएको थियो । तर, केन्द्रले पक्षमा मत दिन निर्देशन दिएपछि मुख्यमन्त्रीलाई मत दिन तयार भएका हुन् ।
लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने अडान लिएको समाजवादी अन्तत: बागमतीमा पनि नयाँ गठबन्धनमा मिसिन तयार भएको हो। पार्टी केन्द्रले तेस्रो पटक विश्वासको मत लिन लागेका मुख्मन्त्री जम्कट्टेलको पक्षमा मत दिन निर्देशन दिएको हो।
१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभाबाट आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा तेस्रो पटक विश्वासको मत लिँदै छन्। उनले हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर विस्वासको मत लिने वातावरण तयार पारेका हुन् । २०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समिकरण बनेको छ ।