Logo

अभियन्ता रहमानद्वारा आरती रावलले लगाएको आरोप खण्डण (भिडिओसहित)



काठमाडौं, १९ चैत । सामाजिक अभियन्ता मोहमद रहमानले आफूमाथि आरती रावल गिरीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आरती रावलले आफूमाथि विना कारण आरोप लगाएको बताएका हुन् ।

आफ्नै श्रीमान न्यायाधीश भुवन गिरीमाथि वैवाहिक बलात्कारको आरोप लगाएर चर्चामा आएकी आरतीले आफूमाथि प्रेस मिट गर्न दिएको पैसा प्रेसमिट नगरी खाएको र सर्वोच्च अदालतमा विष दिएको भनेर आरोप लगाएको उनले बताए ।

‘गत माघ १ गतेदेखि भृकुटीमण्डपमा आफ्नो पति विरुद्ध आमरण अनसनमा बसेकी आरती रावल गिरीले मलाई प्रेसमिट गर्नका लागि १२ हजार दिएको, प्रेसमिट नगरी मैले उक्त रकम खाएको कुरा र सर्वोच्च अदालतमा मैले आरती रावल गिरीलाई विष दिएको भन्ने कुरा आएको पाइयो । मिडियाहरुले मलाई सोधपुछ नै नगरी आरती रावल गिरीको एकतर्फी कुरा सुनेर म सामाजिक अभियन्ताको चरित्र हत्या गर्नेगरी प्रशारण गरिएको झुटा समाचारप्रति खेद प्रकट गर्दछु’– उनले भने ।

आफूले मृतक आरती साहको न्यायका लागि आमरण अनसनमा बसेका उनका बाबुआमालाई भेट्न जानेक्रममा आरती रावलसँग भेट भएको उनले बताए । सो क्रममा आरतीले आफूसँग सहयोग मागेको र आफूले आर्थिक सहयोगसमेत गरेको बताए ।

आमरण अनसनको नाटक गरेर आरतीले लुकीलुकी मासु, परौठा, चिकेन रोस्टजस्ता परिकारहरु खाएको उनको आरोप छ । आरतीले आमरण अनसनको नाटक गरी आम जनताबाट सहानुभूति बटुलेको उनको भनाइ छ । आफूले आरती श्रीमानबाट पीडित भएकै हो कि भन्ने लागेर सहयोग गरेको भएपनि उनको धेरै कतुर्तहरु खुल्दै गएको बताए ।

उनले आरतीबाट सावधान हुन महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, पत्रकार र मिडियाकर्मी, सामाजिक अभियन्ता लगायत सचेत नागरिक बर्गमा अनुरोध गरेका छन् ।

आफूमाथि विनाआधार आरोप लगाएर समाचार प्रकाशन गर्ने मिडिया र आरती रावलविरुद्ध कानुनी कारवाहीको लागि अगाडि बढ्ने तयारी रहेको समेत उनले बताए । आरती रावल गिरीलाई उनले ‘कलुषित भावना भएका नक्कली पीडित’ संज्ञा दिए । त्यस्ता व्यक्तीहरुलाई समाजबाट बहिष्कार गरी बास्तविक पीडितहरुलाई सयोग गर्न उनले सबैलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्