Logo

नाउपा नेताको सनसनीपूर्ण खुलासाः ‘रेशम चौधरीले सुदूर सरकार ढल्योभने चार जनाको हत्या हुन्छ भनेका छन्’



काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको बताए । ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रम भएकाले मैले यसलाई सामान्य लिएको छैन,’– उनले भने ।

उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो । आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको उनले बताए । उनीहरु कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए । रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रुपमा नलिएको उनले बताए ।

आज आफूमाथि भौतिक आक्रमण भएको सुनाउँदै उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठले आज विहान ८ बजे मिटिङ बोलाउनु भएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यो । संस्थापक केन्द्रीय सदस्य भनिएको थियो । २१ जनालाई बोलाइएको थियो । महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय समस्यको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रुमको ढोकाको मात्रै चुक्कुल लागइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर म माथि भौतिक आक्रमण भयो ।’

कसैले कुटपिट गरेको खण्डमा, कही दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेमश चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ । उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण गराए । आफूहरुले रेशमलाल चौधरीलाई संरक्षक मानेपनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको उनको भनाइ छ । तर, रेशमको भनाइ भने ‘मेरो निर्णय मान्दैनौं भने पार्टीमा बस्न पाइँदैन’ भन्ने रहेको उनले बताए । आफू थारुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए । सरकार टिकाउनकै लागि आफूहरुलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्