काठमाडौं,१९ चैत । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिन तीन दलबीच सहमति जुटेको छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा सुदूर सरकारको नेतृत्व समाजवादीलाई दिनेबारेमा सहमति जुटेको हो ।
नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै प्रदेशमा सम्मानजनक सहभागीता हुनुपर्ने अडान राखेको थियो ।
एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा दीर्घ सोडारी रहेका छन् ।
सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा चार हजार ७६ मतको अन्तरले विजयी भएका सोडारी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत बनेका थिए । सुदुरपश्चिममा अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।
उनलाई समर्थन गर्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी विभाजित बनेको छ । त्यहाँ नयाँ समीकरण अनुसार सरकार बनाउने नाउपाले पनि मुख्यमन्त्रीकै शर्त राखिरहेको छ ।
सुदूर सरकारकै विषयमा नाउपामा भाँडभैले मच्चिएको छ । आजमात्र छलफलका लागि जम्मा भएका संस्थापक केन्द्रीय सदस्यहरुबीचको छलफलमा कुटाकुटसमेत भएको छ ।