Logo

अन्ततः माधवले जिते ओलीको मन, सुदूरपश्चिममा मुख्यमन्त्री पक्का



काठमाडौं,१९ चैत । सत्तारुढ तीन दलबीच सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति जुटेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बालुवाटारमा भएको छलफलमा सुदूर सरकार समाजवादीलाई दिनेबारे सहमति जुटेको हो ।

सुदूर सरकार हाल नेपाली कांग्रेसको नेतृत्वमा रहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि अल्पमतमा रहेका मुख्यमन्त्ती कमलबहादुर शाहले आगामी सातासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक अड्चन रहेको छ । हालकै अंकगणितको आधारमा उनको सरकार ढल्ने निश्चित जस्तै छ । कांग्रेसको सरकार ढलेपछि नयाँ बन्ने सरकारको नेतृत्व समाजवादीले लिनेछ ।

त्यसोत, सुदूरमा सरकार बनाउन र टिकाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्णायक देखिएको छ । निर्णायक देखिएको नाउपाले पनि मुख्यमन्त्रीमा सघन दाबी गर्दै आएको छ । गत सातामात्र नाउपाका शीर्ष नेतासँग भेट्दै प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री दिने वचन दिएको स्रोतको दाबी छ ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीसहितका नेताहरुसँग मुख्यमन्त्री दिने प्रचण्डले वचन दिएपनि सत्तारुढ अर्को घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई नेतृत्व दिन नसकिने अडान राखेका थिए । गत साल आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकार ढाल्न नाउपाले विश्वासको मत नदिएको स्मरण गराउँदै ओलीले नाउपालाई मुख्यमन्त्री नदिन प्रचण्डलाई दबाब दिएका छन् ।

गत वर्ष बनेको नयाँ समीकरणमा सुदूरमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री थिए । तर, प्रदेश सभाबाट विश्वासको मत लिँदा नाउपाले विपक्षमा मत दिएपछि रावल ३० दिनमै सत्ताच्यूत भएका थिए । उक्त घटनाले नाउपासँग ओलीको सम्बन्ध चिसिएको छ ।

आजको बालुवाटारको छलफलमा ओलीले नै नाउापलाई मुख्यमन्त्री दिनुभन्दा सत्ता सहयात्री दल एकीकृत समाजवादीलाई दिनुपर्नेमा जोड दिएका थिए । ओलीको उक्त जोडलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि साथ दिएपछि तीन दलबीच सुदूर सरकार समाजवादीलाई दिने सहमति जुटेको बालुवाटार स्रोतले बताएको छ ।

एमाले फुटाएर एकीकृत समाजवादी बनाएपछि नेपाल र ओलीबीच सम्बन्धमा दरार आएको थियो । तर, गत फागुन २१ गते सत्तामा उलटफेर आएपछि एउटै कित्तामा आईपुगेका यी दुई नेताबीच पछिल्ला दिनमा सम्बन्ध सुमधुर हुँदै गएको छ । एमाले र एकीकृत समाजवादीबीच तत्काललाई कार्यगत एकता गर्दै भविष्यमा पार्टी एकता गर्नेसम्मको छलफल चलिरहेको छ ।

एमााले फुटाएर एकीकृत समाजवादी बनाएपछि नेपाल ओलीबीच पानी बाराबारको स्थिति बनेको थियो । सार्वजनिक कार्यक्रममा एउटै मञ्च सेयर गर्नमात्र होइन् एकअर्काको अनुहारसमेत हेर्न नरुचाउने नेपाल र ओलीबीच नयाँ सत्ता समीकरण बनेपछि भने सम्बन्धमा नयाँपन आएको छ ।

प्रचण्डले पूरानो गठबन्धन तोडेर एमालेसँग मिल्दा सल्हाह नगरेको भन्दै एकीकृत समाजवादीले नयाँ गठबन्धनमा सहभागी हुन आनाकानी गरेको थियो तर, माधव नेपालको जन्मदिन पारेर फागुन २३ गते नेपाल भेट्न ओली र प्रचण्ड उनकै निवास कोटेश्वर पुगेका थिए ।

लामो समय कटुतापूर्ण सम्बन्धबाट गुज्रिएका नेपाल र ओलीले एकअर्कासँग मन माझामाझ गरेर नयाँ ढंगले अगाडि बढ्ने समझदारी बनेको छ । २१ फागुनसम्म शत्रुतापूर्ण व्यवहार गर्ने ओली र नेपालबीचको पछिल्ला दिनको हार्दिकतालाई सबैभन्दा नजिकबाट नियालिरहेका प्रधानमन्त्री प्रचण्डसमेत आफैमा तीन छक्क परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot