Logo

किरात धर्मको मूल उद्देश्य विश्व शान्ति र मानव एकता



काठमाडौं, १९ चैत । किरात धर्म साहित्य उत्थान संघ र किरात चप्लुङ अंशिमाङ केन्द्रीय समितिले किरात धर्मका अनुयायीहरुले नै किरात धर्म र धर्मगुरुप्रति अनास्था पैदा हुने काम गरेको भन्दै आपत्ति जनाएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले उनीहरुले यस्तो कार्य नगर्न र नगराउन किरात धर्मका अनुयायीहरुलाई आग्रह गरेका छन् ।

किरात धर्म साहित्य उत्थान संघका पूर्व महासचिव एवं मुन्धुमविद् डा. चन्द्रकुमार शेर्माले किरात धर्मको आफ्नै दर्शन, सिद्धान्त, संस्कार, कर्मकाण्ड र शास्त्र रहेको बताए । उनले नेपालमा मात्रै नभएर अमेरिकाको ३३ स्टेटसहित युरोप, भुटान र भारतमासमेत किरात धर्मको अस्तित्व रहेको बताए ।

किरात धर्मका अनुयायीहरु मात्रै नभएर अरुले पनि किरात धर्म, महागुरु र वर्तमान गुरु, गुरुआमाहरुको विरोध गर्ने कार्य आफूलाई सह्य नहुने उनले बताए ।

महागुरु फाल्गुनन्दको समाधि नजिकै बनाउन लागिएको प्रतिमा अनुयायीहरुले विरोध गरेको भन्दै उनले यसो नगर्न आग्रह गरे ।
‘महागुरु फाल्गुनन्दको समाधि नजिकै महागुरुको प्रतिमा (मूर्ति) राख्ने भक्तजनहरुले आशय गरे । जुन स्थापना गर्न खोजे । त्यो एक वर्गले नकारे । अन्य धर्मालम्वी होईनन्, अन्य शाखा, प्रशाखा होईनन्, किरात धर्मकै अनुयायी हुन् । उहाँहरुको घर–धरमा महागुरु फाल्गुनन्दकै मुन्धुमअनुसार सेतो झण्डा गाडेर बस्ने अनुयायीहरुले त्यसलाई लडाउने भत्काउने गरे,’– उनले भने ।

उनले देउतासँग लडाइ गर्न नखोज्न सबैलाई आग्रह गरे । देउतासँग लडाइ गर्न खोजेमा देउदण्ड लाग्ने उनको बुझाइ छ । किरात धर्म राज्यको चौथो ठूलो धार्मिक समुदाय रहेको किरात धर्म साहित्य उत्थान संघको भनाइ छ । अर्का सदस्य ज्ञानबहादुर इजमले किरात धर्मको मूल उद्देश्य नै विश्व शान्ति र मानव एकता रहेको बताए । उनले किरात धर्म गुरु आत्मनन्द लिङ्देनको चाहना पनि विश्व शान्ति र मानव एकता नै रहेको बताए ।

किरात धर्म साहित्य उत्थान संघका केन्द्रीय समिति सदस्य सूर्यविक्रम चेम्जोङ, मञ्जु थेगिम, सरिता लावतीलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्