Logo

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे



काठमाडौं,२० चैत । अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनेबारे छलफल थालेका छन् । सत्ता समीकरण बदलिएर अल्पमतमा परेका पाण्डेले बहुमत जुटाउन नसकेपछि पदनबाट राजीनामा दिने तयारी गरेका हुन् ।

गत फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले संविधानअनुसार २२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्छ र प्रदेश सभा नियमावलीअनुसार आज मंगलबार दिउँसोसम्ममा विश्वासको मत लिने भए संसद सचिवालयमा सूचना पठाइसक्नुपर्छ । तर, मुख्यमन्त्री पाण्डेले संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिन लागेका हुन् ।

६० सदस्यीय प्रदेश सरकारमा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । हाल मुख्यमन्त्री पाण्डेसँग नेपाली कांग्रेसका २७ र स्वतन्त्र दाबी गरेका दीपक मनाङे १ जना गरेर २८ सांसदको समर्थन रहेको छ । उनलाई सत्ता जोगाउन ३ सांसद अपुग हुने देखिन्छ ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पनि विपक्षीको सरकार बन्न नसक्ने हुँदा ठूलो दलको हैसियतमा फेरि आफू नै मुख्यमन्त्री बन्ने रणनीति पाण्डेले बनाएका छन् ।

१६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखबाट आह्वान भएसँगै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त हुने र एक महिना भए पनि लब्याउने योजनामा रहेको उनी निकट नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्