Logo

‘बार्गेनिङ’ गरेर मन्त्री नियुक्त भएकी आलेले भौतिक पूर्वाधार मन्त्रालय माग्ने



काठमाडौं,२० चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई विश्वासको मत दिनुअघि मन्त्री पद सुनिश्चितता गराएर बिना विभागीय मन्त्री नियुक्त भएकी बागमती प्रदेशकी नवनियुक्त बिना विभागीय मन्त्री रमा आले मगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दाबी गर्ने भएकी छन् ।

सोमबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत कार्यसूची रहेको थियो । तर, आफूलाई मन्त्री बनाउने शर्त पूरा नगरेसम्म विश्वासको मत दिन प्रदेश राजधानी हेटौंडा नआउने अड्डी कसेकी आले जम्कट्टेलले विश्वासको मत पाएको केही मिनेटमै बिना विभागीय मन्त्री नियुक्त भएकी थिईन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिईसकेकी छन् ।

बिना विभागीइ मन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आलेल आफ्नो दाबी भौतिक पूर्वाधार मन्त्रालयमा रहेको बताईन् । ‘अन्य दलहरुसँग छलफल गर्न बाँकी नै छ,’ उनले भनिन्, ‘सोही कारणले आज बिनाविभागीय मन्त्रीको सपथ लिएँ। अबको एक हप्ताभित्रै टुंग्याउने भन्ने कुरा छ। मेरो निर्वाचन क्षेत्रको मतदाताको चाहना र मेरो जिम्मेवारी पूरा गर्नका लागि भए पनि मेरो दाबी भौतिक पूर्वाधार विकास मन्त्रालयमै हो।’

मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । मगर प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद थिइन् ।

उनी एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिने भनेर काठमाडौंबाट बोलाइए पनि अन्तिममा निर्णय परिवर्तन भएको भन्दै उनलाई फर्काइएको थियो । तर यसपटक भने बार्गेनिङ गरेरै भए पनि उनी मन्त्री बनेकी छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot