Logo

प्रचण्डको निर्देशन मान्ने-नमान्नेबारे निर्णय लिन माओवादी कर्णाली संसदीय दलको बैठक बस्दै



काठमाडौं,२० चैत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिने केन्द्रीय सत्ता गठबन्धनभित्र भएको सहमतिका बीच माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्दै छ।

सोमबार भएको सहमतिअनुरूप प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीको कर्णाली कमिटीलाई प्रदेश सरकारको नेतृत्व छाड्न टेलिफोनबाट निर्देशनसमेत दिइसकेका छन्।

तर, केन्द्रको निर्देशन नमाान्ने भन्दै मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अड्डी कसेका छन् । माओवादी केन्द्रका उपमहासचिव जनादर्न शर्माको दरिलो साथ पाएका शर्माले कुनैपनि हालतमा नेतृत्व एमालेलाई छाड्न नसकिने बताउँदै आएका छन् । बिबाद बढ्दलै गएपछि ठोस निर्णय लिन संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ ।

प्रदेशको विवाद मिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व मुख्यमन्त्री एवम् माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । शाही वीरेन्द्रनगरमा पुगेर पनि छलफल चलाउन सुरु गरेका छन् ।

पूर्व मुख्यमन्त्री शाहीसँगको छलफलपछि बस्ने प्रदेश संसदीय दलको बैठकले निर्णय लिएमा मुख्यमन्त्री शर्माले आजै पदबाट राजीनामा दिनेछन् । यता नेकपा एमालेले भने केन्द्रको सहमति अनुसार माओवादीले सहजरुपमा सत्ता हस्तान्तरण गर्नुपर्ने बताउँदै आएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेल रहेका छन् । माओवादीले सहमति पालना गरेमा कँडेलले आजै मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot