काठमाडौं, २० चैत । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सत्तारुढ गठबन्धन दलमा भएका सहमति कार्यान्वयन हुनेमा आफूहरुलाई शंका रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच भएका सहमति कार्यान्वयन नभएको बताए । यस पटक पनि कार्यान्वयन नहुनेमा आफूहरु ढुक्क रहेको उनले बताए ।
‘त्यस्तो सहमति त केही पनि भएको छैन । हामीलाई विश्वास पनि छैन, सहमति कार्यान्वयन होला, हुन्छ भन्ने । कुनै बेला प्रचण्ड र केपी ओलीको बीचमा सहमति भएको थियो । तर, केपी ओलीले त्यो सम्झौता तोड्नुभयो । त्यसपछि फरि देउवा र प्रचण्डको बीचमा सहमति भयो, देउवाले तोड्नुभयो ।’ उनले भने, ‘त्यसपछि तीन जना नेता माधव नेपालसहितको सम्झौता भयो । फेरि प्रचण्डले तोड्नुभयो । फेरि प्रचण्ड–केपी ओलीका बीचमा सम्झौता भयो, फेरि तोड्नुभयो । भनेपछि हरेक पटक सम्झौता हुन्छ, कार्यान्वयन कहिले भएन् । धेरै पटक प्रचण्डले सम्झौता तोड्नुभएको छ । कार्यान्वयन नहुने सम्झौताको के अर्थ ? यो सम्झौतामा हामीलाई कुनै विश्वास छैन ।’
नेपालका शीर्ष नेताहरुमा कुनै पनि प्रकारको जवाफदेहिता नहरेको बताए । उनले ओली–प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्री बनाउने कुरा तीन करोड जनसंख्यामा एक जनाले पनि नपत्याउने उनको टिप्पणी छ । ओली–प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्री नबनाउने कुरा प्रष्ट हुँदा पनि देशलाई किन अस्थिरतामा फसाउने भनेर आफूहरुले सरकारलाई समर्थन गरेको उनको भनाइ छ ।
‘प्रधानमन्त्री बन्ने कुरा त यो भन्दाअघि पनि थियो । नेपालको शीर्ष नेतृत्वप्रति कुनै प्रकारको जवाफदेहिता छैन । सम्झौता गर्नेले जिम्मेवार हुनुपर्ने, जवाफदेही हुनुपर्ने र कार्यन्वयन गर्नुपर्नेमा कुनै गाम्भीर्यता भन्ने चिज नै छैन ।’ उनले भने, ‘माधव नेपाल, केपी ओली र प्रचण्डको बीचमा सहमति भयो । केपी ओली, माधव नेपाल प्रधानमन्त्री हुने कुरा यो दुनियाँको कुनै पनि मान्छेले, नेपालको तीन करोड जनसंख्या छ, तीन करोड जनसंख्याको एक जनाले पनि विश्वास गर्ने आधार छैन, पत्याउँदैनन् ।’