काठमाडौं, २० चैत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद जनताको बलमा सडकबाट जन्मिने बताएका छन् । आज (मंगलबार) समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता सडकमै हुने भएकाले समाजवाद सडकबाटै जन्मिने बताए । उनले सडकबाट समाजवाद जन्माउने कुरामा मोर्चा केन्द्रीत हुनुपर्ने धारणा राखे ।
‘समाजवाद जन्मिने भनेको सडकबाट नै हो । किनकी जनता सडकमै हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । अन्ततः सडकबाट नै समाजवाद जन्मने हो । जनताले जन्माउने हो समाजवाद । हामी जनतासँग जोडिएनौं भने शक्तिशाली हुँदैनौं । सडकबाट समाजवाद जन्माउने कुरामा हामी केन्द्रीत हुनुपर्छ । यो भन्दा अहिले अर्को बाटो हुन सक्दैन,’– उनले भने ।
अहिले समाजवादी मोर्चामा रहेका दलबीच राम्रो संयोजन रहेको उनले दाबी गरे । मोर्चामा सहभागी दलमध्ये तीन दल सरकारमै सहभागी रहेको र एउटा सडकमा रहेकाले यस्तो संयोजनले व्यालेन्समा राख्ने उनको तर्क छ ।
समाजवादको तयारी गर्नका लागि सदन, सडक र सरकारलाई अधिकतम् उपयोग गर्दै अन्ततः सडकबाट निर्णाय ढंगले समाजवाद जन्माउने कुरामा मोर्चा केन्द्रीत हुनुपर्ने उनको भनाइ छ । Photo By: Mukunda Kalikote/RN