Logo

पद छाड्नुअघि कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश सभालाई सम्बोधन गर्ने



काठमाडौं,२१ चैत । केन्द्रको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिन तयार भएका कर्णाली प्रदेश सभाका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिनुअघि प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

अहिले केहीबेरमा सुरु हुने प्रदेश सभालाई सम्बोधन गरेर आजै राजीनामाको घोषणा गर्न उनी तयार भएका हुन् । उनले राजीनामा दिएपछि एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् ।

केन्द्रको सत्ता गठबन्धनबीच प्रदेश सरकारको भागबन्डा हुँदा कर्णाली एमालेललाई र लुम्बिनी माओवादी केन्द्रलाई परेको थियो । त्यसपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शर्मालाई राजीनामा दिन भनेका थिए । तर, शर्माले राजीनामा नदिने बरु प्रदेशसभामा विश्वासको मतको प्रस्ताव राख्ने बताएका थिए ।

यसरी केन्द्रको निर्देशन मुख्यमन्त्री शर्माले नमानेपछि पछिल्ला तीन दिन कर्णालीको राजनीतिमा तरंग नै आएको थियो । तीन दिनयता एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै बैठकहरू मात्र बसेका थिएनन्, एमाले र माओवादी केन्द्रबीच पनि वार्ताहरू भएका थिए । तर, बुधबार मुख्यमन्त्री शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच वार्ता भएपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार भएका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्र १३, एमाले १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ सांसद छन् ।

मुख्यमन्त्रीका लागि २१ सिट भए पुग्नेमा माओवादीका १३ र एमालेका १० गरी २३ सांसद पुग्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot