
काठमाडौं, २१ चैत । हत्या अभियोगमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई जिल्ला अदालत चितवनमा पेश गरिएको छ । काठमाडौं–३२, कोटेश्वरको व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा फरार रहेका खामलाई प्रहरीले हिजो (मंगलबार) ठमेलबाट पक्राउ गरेको थियो ।
खामसहितको समूहले व्यापारी श्रेष्ठलाई २०६५ वैशाख २८ गते राति ८ बजे अपहरण गरी लगेका थिए । श्रेष्ठको शव चितवनको नारायणी नदी किनारमा फेला परेको थियो ।
फरार रहेर १५ वर्षपछि पक्राउ परेका खामलाई हिजो नै चितवन लगिएको थियो । उनलाई आज जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला अदालतले खामविरुद्धको मुद्दाको मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको छ । फरार रहेका खामविरुद्धको मुद्दा मुल्तबीमा राखिएको थियो । अदालतले खामलाई पुनः प्रहरीको जिम्मा लगाएर हिरासतमा पठाएको छ ।