Logo

एमालेको ‘पदचाप’ पछ्याउँदै कांग्रेसले दियो पृथ्वीपुत्र अभिषेकलाई बझाङको टिकट



काठमाडौं,२२ चैत । लामो छलफल र रस्साकस्सीपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आसन्न उपचुनावका लागि उम्मेदवार तय गरेको छ ।

आज बसेको कांग्रेसको पदाधिकारी बैठकले इलाम २ मा गत वर्ष पराजित भएका डम्बर खड्का र बझाङ प्रदेश सभा (ख) मा अभिषेक बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

इलाम २ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो।

सिफारिस भएकामध्ये खड्काको पक्षमा संस्थापन एकढिक्का हुँदा अर्का आकांक्षी आचार्य पाखा लागेका छन् । आचार्यलाई उम्मेदवार बनाउन दुई महामन्त्री र संस्थापन इतर समूहले निक्कै जोडवल गरेपनि अन्तत देउवाको नै जित भएको छ ।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए ।

इलाम २ बाट निर्वाचित नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र बझाङ ख बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादर सिंहको निधन भएपछि सो क्षेत्रमा वैशाख १५ गते हुने उपनिर्वाचन हुँदैछ । त्यसका लागि २४ चैतमा उम्मेदवार दर्ता हुँदैछ ।

इलाम २ को उपनिर्वाचनका लागि एमालेले स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई मैदानमा उर्तादा नेपाली कांग्रेसले पनि बझाङमा एमालेकै पदचाप पछ्याएको छ । बझाङको टिकट हात पारेका कांग्रेसका उम्मेदवार सिंह स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा हुन् । गत असार ५ गते मन्त्री सिंह, उनकी पत्नी र भाउजूको बझाङकै केदारस्युँमा जिप दुर्घटनामा परेर निधन भएको थियो।

२०७९ को स्थानीय तह चुनावमा अभिषेक जयपृथ्वी नगरपालिका– ५ को अध्यक्षमा भिडेका थिए। तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए ।

बुवाको राजनीतिक विरासत धान्ने योजनासहित अभिषेक अघि बढिरहेका बेला कांग्रेस पनि उनैलाई टिकट दिएको हो। कांग्रेसले उनलाई टिकट दिएसँगै कांग्रेसले पनि एमालेकै पदचाप पछ्याएको टिप्पणी हुन थालेको छ ।

त्यसोत नेपालमा कुनैपनि राजनीतिक दलबाट निर्वाचित सांसदहरु बीचमै निधन भएमा हुने उपनिर्वाचनमा उनीहरुकै परिवारका सदस्य उम्मेदवार बन्ने परम्परा नै चलिआएको छ । तत्कालीन एमालेका महासचिव मदन भण्डारीको निधनपछि भएको उपनिर्वाचनमा एमालेले मदनपत्नी विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाएर थालनी गरेको यो परम्परा कांग्रेसले पनि अंगिकार गर्दै आएको छ ।

०५० सालमा एमालेले थालेको सो परम्परा ०६४ सालको निर्वाचनमा पनि दोहोरिएको थियो । सुर्खेतबाट उम्मेदवार बनेका एमालेका ऋषि शर्माको हत्या भएपछि भएको उपनिर्वाचनमा एमालेले उनकै पत्नीलाई उम्मेदवार बनाएको थियो । पछि दोस्रो संविधान सभा निर्वाचनमा बाग्लुङबाट निर्वाचित कांग्रेस सांसद हरि खड्काको सडक दुर्घटनामा परेर निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले हरिपत्नी चम्पालाई उम्मेदवार बनाएर सांसद बनाएको थियो ।

०७४ को निर्वाचनपछि एमोलले विद्या भट्टराई र विमला ओलीलाई उपनिर्वाचनमार्फत नै संसदमा ल्याएको थियो । भट्टराई कास्की २ को उपनिर्वाचनमा विजयी बन्दा ओलीले दाङको प्रदेश सभामा जित हात पारेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्