Logo

गण्डकीमा गठबन्धनलाई बाबुरामको घात, खगराजको मुख्यमन्त्री बन्ने सपनामा तुषारापात !



काडमाडौं,२३ चैत । गण्डकी प्रदेशमा नेकपा माअ‍ोवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटाले गण्डकीमा नयाँ सरकार बनाउन नेकपा एमालेसहितको गठबन्धनलाई समर्थन नगर्ने भएका छन् ।

गोरखाबाट प्रदेश सभामा निर्वाचित नेपाल समाजवादी पार्टीका नेता देवकोटाले नयाँ सरकार बनाउन समर्थन नगर्ने नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले उद्घाष गरेका छन् । आज गृह जिल्ला गोरखामा पत्रकार सम्मेलनको आयोजना गर्दै भट्टराईले चुनाव चिन्ह अर्कैको भएपनि देवकोटा आफ्नो पार्टीको सांसद भएको जिकिर गरे ।

‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ ले दुईभन्दा बढी दलले एउटै साझा चुनाव चिह्न लिएर चुनाव लड्न सकिन्छ भन्ने प्रावधानअन्तर्गत गत निर्वाचनमा माओवादीको चिह्नलाई साझा चुनाव चिह्न बनाएको हो, समाजवादी माओवादीमा बिलिन भएको होइन,’ गोरखामा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘त्यस अर्थमा गण्डकी प्रदेशका हाम्रा सांसद फणिन्द्र देवकोटा नेपाल समाजवादी पार्टीकै सांसद हुनुहुन्छ।’

चुनावपछि पार्टी एकता गर्ने सहमतिसहित गत वर्षको निर्वाचनमा माओवादी केन्द्र र नेसपाले संयुक्त रुपमा उम्मेदवारी दिएका थिए । चुनावपछि माओवादीसँग पार्टी एकताका लागि छलफल भएपनि भट्टराई पक्ष तयार नहुँदा नेसपाको एउटा पक्षले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेर नेसपा फुटाईसकेका छन् ।

पार्टी एकता पनि नभएको र आफ्नो पार्टी पनि फुटाएको भन्दै माअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भट्टराईको सम्बन्ध चिसिएको छ । सम्बन्ध चिसिँदै गर्दा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गठबन्धन फेरेपछि बिच्किएका बाबुरामले नयाँ सत्ता गठबन्धनलाई समर्थन नगर्ने बताएका हुन् ।

‘हामीलाई माओवादीले जुन ढंगले षड्यन्त्रमूलक ढंगले धोका दिएको छ। उसका गतिविधि अलोकतान्त्रिक र अनैतिक ढंगको देखिएका छन्। तत्काल नै उनीहरूलाई साथ दिन सक्ने अवस्था छैन,तर अर्को पक्षसँग पनि मिल्छ/मिल्दैन टुंगो छैन। आवश्यकता हेरेर निर्णय गर्छौं।’भट्टराईले भने

सत्ता गठबन्धनमा उलटफेर आएपछि अल्पमतमा परेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिएका छ्न । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टराले २७ गतेसम्म नयाँ सरकार बनाउन समय दिएका छन् ।

सत्ता गठबन्धनमा जुटेको सहमतिअनुसार गण्डकीको मुख्यमन्त्री एमालेको भागमा परेको छ । एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीको दावेदार हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेस २७ सांसदसहित ठूलो दल छ भने एमालेका २२ सांसद छन्। देवकोटासहित माओवादीका ८ सांसद छन् भने राप्रपाका दुई र एकीकृत समाजवादी छाडेको घोषणा गरेका राजीब गुरूङ (दीपक मनाङ्गे) पनि सांसद छन्।

देवकोटाले पनि साथ नदिने र राप्रपाले पनि सत्ता गठबन्धनमा नजाने अड्डी लिएमा खगराजको दोस्रो पटक मुख्यमन्त्री बन्ने सपनामा तुषारापात आउने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot