Logo

प्रचण्डले सांसद पदबाटै राजीनामा दिनुपर्छः बाबुराम भट्टराई



काठमाडौं, २३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा सदस्यबाटै राजीनामा दिनुपर्ने बताएका छन् । बिहीबार गोर्खाका पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रचण्डले कांग्रेसका मतदाताबाट निर्वाचन जिते पनि अहिले धोका दिएकाले सांसद पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।

कांग्रेसको समर्थनमा चुनाव जितेर धोका दिनु राजनीतिक हिसाबले बेइमानी हुने उनको भनाइ छ । ‘प्रचण्डले गठबन्धनबाट चुनाव लड्नुभयो, त्यसलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुँदैन,’– उनले भने ।

प्रचण्डले सांसद पदबाट राजीनामा दिए उक्त क्षेत्रमा उपनिर्वाचन गराउन उपयुक्त हुने उनको भनाइ छ । प्रचण्डले २०७९ को आम निर्वाचनमा गोरखा–२ बाट चुनाव लडेका थिए । बाबुराम भट्टराईकै समर्थन र सहयोगमा उनी उक्त निर्वाचन क्षेत्रको उम्मेदवार बनेका थिए । पछिल्लो समय बाबुराम र प्रचण्डबीच सम्बन्ध चिसिएको छ । हाल प्रचण्ड निर्वाचित भएर आएको क्षेत्रमा बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेका थिए । साथै, प्रचण्ड सत्तामुखी व्यक्ति रहेको र उनले सत्ताका लागि जे पनि गर्ने उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot