काठमाडौं, २३ चैत । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको वडा नम्बर १ र ७ मा निषेधादेश जारी गरेको छ । हिजो (बिहीबार) एसईई परीक्षा दिने क्रममा हरिनगर–१ मा रहेको बालकृष्ण माविमा दुई समूहबीच झडप भएको थियो । उक्त झडपका कारण सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधादेश जारी गरिएको हो ।
आज मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको छ । कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलद्वारा हस्ताक्षरित सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी भएको उल्लेख छ । अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी गरिने कार्यबाहेक सामूहिक रुपमा गरिने, सामाजिक, धार्मिक तथा राजनीतिक सभा गर्न रोक लगाइएको छ । आदेशको अवज्ञा गरे कारबाही गरिनेसमेत सचेत गराइएको छ ।