Logo

माओवादी नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



काठमाडौं,२३ चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई अपहरण गरेर हत्या गरेको आरोपमा तीन दिनअघि पक्राउ परेका उनलाई आज जिल्ला अदालत चितवनले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

१५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो ।

 व्यक्ति हत्याको अभियोग लागेका उनी १५ वर्षदेखि फरार सूचीमा रहेका थिए । उनीमाथि काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप रहेको छ ।

२०६५ मा व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रण लिएर हत्या गरेको अभियोग खाममाथि छ । १५ वैशाख २०६५ मा श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो ।

श्रेष्ठको शव २८ वैशाखमा नारायणी नदि किरानामा भेटिएको थियो । आफ्ना श्रीमानको हत्या भएको भन्दै रामहरिकी श्रीमती रमिला श्रेष्ठले ४ जनाविरुद्ध जाहेरी दर्ता गरेकी थिईन् । प्रहरीमा जाहेरी परेपछि उनी १५ वर्षदेखि लुकीछिपी बस्दै आएका थिए ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।

सो विभागमा पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा प्रमुख रहेका छन् । सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटाला पछि रिहा भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot