काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवं नेपाल तरुण दलका केन्द्रीय सदस्य अर्जुन पराजुलीले इलाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माओवादीको सामान चोरेर देखाइरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तनहुँको उपनिर्वाचनका कांग्रेसको कार्यकर्ता चोरेको रास्वपाले इलाम–२ को उपनिर्वाचनमा माओवादीको कार्यकर्ता चारेर देखाइरहेको टिप्पणी गरेका हुन् ।
रास्वपाले तनहुँको उपनिर्वाचनमा कांग्रेसको कोटाबाट योजना आयोगका उपाध्यक्षसमेत खाएको डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको थियो । अहिले इलाममा नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठनका महासचिवसमेत रहेका मिलन लिम्बूलाई रास्वपाले उम्मेदवार बनाएको छ ।
‘हामीले तनहुँको उपनिर्वाचनमा गोविन्द भट्टराईजस्तो इमानदार नेता उठाएका थियौं । तर, स्वतन्त्र पार्टीले हाम्रो सामान चोरेर लगेर, चोरेर लगेको सामान हाम्रो हो भनेर उसलाई देखाएर हाम्रा भोटहरु आफ्नो पक्षमा पार्यो । त्यस्तै उपनिर्वाचन इलाममा आइरहेको छ । फेरिपनि त्यो स्वतन्त्र पार्टीले माओवादीको सामान चोरेर लगेर देखाइरहेको छ,’– उनले भने ।
त्यस्ता शक्तिलाई परास्त पार्न र सवक देखाउन उनले सबैलाई आग्रह गरे । साथै, ३२ सिटे पार्टीले ठूला–ठूला दलहरुलाई पिछालग्गु बनाएको उनको टिप्पणी छ । उनले यस्तो परिस्थितिलाई कांग्रेसले चिर्नुपर्ने उनको भनाइ छ ।