Logo

अघिल्लो सरकारमा अमरसिंहले रोकेका दीपेन्द्रसहित लुम्बिनीमा ३ मन्त्री नियुक्त हुँदै



काठमाडौं,२५ चैत । लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदैछ । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार एमाले, माओवादी र जसपाका एक एक सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

महराले आइतबार एमाले प्रदेश संसदीय दलका नेता चेतनारायण आचार्य, माओवादीका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गर्न लागेका हुन् । आचार्य यसअघि शंकर पोखरेल र लिला गिरी नेतृत्वको सरकारमा मन्त्री भईसकेका व्यक्ति हुन भने अहिर निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकारका कृषिमन्त्री हुन् । पुन भने पहिलो पटक मन्त्री भएका हुन् ।

प्रदेश सभा निर्वाचनमा आचार्य अर्घाखाँची, पुन रोल्पा र अहिर बाँकेबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । पुन माओवादीबाट किट नपाएपछि स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका थिए । ५ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गर्दै उनी विजयी भएका थिए ।

स्वतन्त्र रुपमा प्रदेश सभामा निर्वाचित पुन चौधरी सरकारमा मन्त्री बन्ने सर्तसहित माओवादीमा प्रवेश गरेका थिए ।तर, उनलाई मन्त्री बन्नबाट निर्वाचनमा पराजित पुनले रोकेका थिए । तत्कालीन मुख्यमन्त्री चौधरीले पुनलाई मन्त्री नियुक्त गर्न प्रयास गरेपनि कांग्रेस नेतृत्वको दवाव थेग्न नसकेपछि उनी पछि हटेका थिए ।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ।

नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता रहेका महरा एमाले, माओवादी, जसपा र एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा शुक्रबार मुख्यमन्त्री बनेका थिए। उनी २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावमा रोल्पा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot