काठमाडौं, २५ चैत । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त नगर्न भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले सरकार गठनका लागि बहुमत दाबी पेश गरेका थिए ।
अधिकारीले सभामुख कृष्णप्रसाद धितालसहितको हस्ताक्षर प्रयोग गरेर बहुमत दाबी गरेका थिए । कोशी प्रदेशका तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षर सर्वोच्च अदालतले सरकार गठनका लागि मान्यता नदिएको दलिल पेश गर्दै उनले गैरसंवैधानीक दाबीका आधारमा मुख्यमन्त्री नियुक्ती हुने काम रोक्न माग गरेका छन् ।
‘भर्खरै मात्र निवेदक हिक्मत कुमार कार्की बिरुद्ध प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश समेत रहेको उत्प्रेषण परमादेश मुद्वामा सम्मानीत सर्वोच्च अदालतले ‘मुख्यमन्त्रीकालागि पेश गरिएको दावी पत्रमा प्रत्यर्थी माननीय सभामुख बाबुराम गौतमले हस्ताक्षरं गरि जनाउनुभएको समर्थन, यसरी पेश भएको त्रुटिपूर्ण दावी पत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट श्री उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा मिति २०८०।०३।२१ मा गरिएको नियुक्ति र तत्सम्बन्धमा भए गरिएका काम कारवाहीहरु नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ’ भनी सभामुख ज्यूको समर्थनलाई अमान्य गरिदिएको स्थित छ । तसर्थ सभामुखले हस्ताक्षर गरेको भनिएको मा खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको उक्त व्यहोरा सरासर नेपालको संविधान, कानुन, स्थापित नजिर सिद्धान्त र परम्पराविरुद्ध छ,’– प्रदेश प्रमुखलाई लेखिएको पत्रमा भनिएको छ ।