Logo

 लुम्बिनीमा पाँचौं मुख्यमन्त्रीको शपथ लिएका महरा को हुन् ?



लुम्बिनी, २५ चैत । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष्ँ पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उनी विसं २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गरेका हुन् । उनले विसं २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गरेका थिए ।

मुख्यमन्त्रीमा नियक्त भएपछि आज शपथग्रहण गरेका महरा विसं २०७९ मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं २, हाल सुनिलस्मृति(गाउँपालिका(५ गजुल काट्नेमा बुवा खलबहादुर महरा र आमा रमिता महराको कोखबाट विसं २०२० कात्तिक १ गते जन्मेका महराले स्थानीय श्री जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

यस्तै उनले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशात्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री महराका श्रीमती तपी महरा र चार छोरा छन् ।

विसं २०४२ मा विद्यार्थी सङ्गठनको दाङको सचिव हुँदै विसं २०५१ मा नेकपा माओवादीको रोल्पा जिल्ला सचिवका रुपमा पार्टीको जिम्मेवारी पाएका थिए । यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरेका महरा विसं २०६४ मा नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य भएका थिए ।

विसं २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गरेका महराले विसं २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेरसमेत काम गरेका थिए ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेका महरा गतवर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot