Logo

कोशीमा वैकल्पिक सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष एमाले-माओवादीको विन्तिपत्र



काठमाडौं, २६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन् । मुख्यमन्त्री कार्की अल्पमतमा परेसँग नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका दलहरुले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष विन्तिपत्र दिएका छन् ।

पत्रमा एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीलाई वैकल्पिक सरकारको मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ । उनीहरुले बहुमत हस्ताक्षरसहित एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका छन् ।

नेपालको संविधान बमोजिम मुख्यमन्त्री कार्कीले बहुमत सदस्यको विश्वास गुमाई सकेको पत्रमा उल्लेख छ । ‘हामी बहुमत सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन माननीय प्रदेश प्रमुखज्यू समक्ष दाबी प्रस्तुतिका साथ अनुरोध गर्दछौ,’– प्रदेश प्रमुखसमक्ष बुझाइएको विन्तिपत्रमा भनिएको छ ।

एमाले र माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन आज नै फिर्ता लिएको थियो । मुख्यमन्त्री कार्की भने आफू दलको समर्थनमा मुख्यमन्त्री नबनेकाले समर्थन फिर्ता लिएर कुनै असर नपर्ने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्