काठमाडौं, २७ चैत । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सकारात्मक काम गर्न नसकेको खण्डमा वर्तमान सरकार ढल्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । ‘नयाँ गठबन्धनको सरकार बनेको एक महिना भयो । यसले सकारात्मक काम गर्यो भने केही समय रहला । सकारात्क कामै भएन भने के काम छ त सरकारको ?’ प्रश्न गर्दै उनले भने ।
साथै, सबै नेतालाई भ्रष्टाचारीको संज्ञा दिन नहुने उनको भनाइ छ । नेता थापाले गलत गर्ने नेताहरुले सजाय भोगिरहेको र सजायको भागिदार भइरहेका भन्दै सबैलाई एक नजरले हेर्न नहुने बताएका हुन् । उनले नेताहरुले भ्रष्टाचारीलाई समर्थन नगर्ने बताए । ‘भ्रष्टार गरेकालाई कारबाही भएको छ, बेइज्जत भएको छ । राजनीतिक संस्कारबाट मुक्त भएका छन् । भ्रष्टाचारीहरुलाई नेताहरुले समर्थन गर्दैनन् । एउटाले गर्यो भनेर सबैको धन्दा त्यही हो भन्ने कुरा गैरजिम्मेवार हुन्छ,’– उनले भने ।