Logo

राज्यले हाम्रो आन्दोलनलाई दमन गर्न खोजे प्रतिकार गर्छौंः धवल शमशेर जबरा



काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई राज्यले दमन गर्न खोजेको खण्डमा प्रतिकार गर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको आजको आन्दोलन शान्तिपूर्ण रहेने तर राज्यले दमन गर्न खोजे चुप लागेर नबस्ने बताएका हुन् ।

‘आफूहरुले भुमरीमा फसेको देशलाई बाहिर निकाल्नका लागि आन्दोलन गर्न लागेको उनले बताए । शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने अधिकारमा राज्यले दमन गर्न खोजेको खण्डमा प्रतिकार गर्ने उनको भनाइ छ । ‘मुख्य सडकहरुमा शान्तिपूर्ण प्रदर्शन गर्ने, प्रदर्शनपछि सभामा परिणत गरेर आन्दोलनलाई एक चरणमा पुर्याउन तयारी छ ।’ उनले भने, ‘तर, हामीलाई हिँड्ने ठाउँ सबैतिर निषेधित क्षेत्र लगाइदिएपछि कहाँ हिँड्ने त ? सबै ठाउँमा निषेधित क्षेत्र छ । हामी कही आक्रमण गर्ने होईन । तर, मुल सडकमा हिँड्दाखेरी अवरोध ल्यायो भने हामी निषेधित क्षेत्रलाई अवज्ञा गर्दै अगाडि बढ्छौं ।’

आफूहरुको प्रदर्शन बिग्रिएको अवस्थालाई बदल्न र व्यवस्था परिवर्तनका लागि भएको उनको दाबी छ । उनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षतालाई खारेज गरेर नेपाल अधिराज्य, राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचनबाट आएको प्रधानमन्त्री ल्याउने बताए । राप्रपाले आज वृहत जनप्रदर्शन गर्दैछ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्