Logo

काठमाडौंमा राप्रपाको जनप्रदर्शनः सरकारलाई चुनौति दिँदै तोडियो निषेधित क्षेत्र



काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा विशाल जनप्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु निस्किएका छन् । प्रदर्शनकारीहरुले सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोडेर अगाडि बढेका छन् । आन्दोलनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । आन्दोलनमा राप्रपाका शीर्ष नेताहरु पनि सहभागी छन् । भद्रकालीबाट माइतीघरतर्फ मोडिने क्रममा उनीहरुमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

उनीहरुमाथि प्रहरीले बल प्रयोग गर्दा केहीबेर प्रदर्शनकारीहरु तितरवितर भएका थिए । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र इँटा हानेका थिए । गणतन्त्र खारेजी, राजसंस्था पुनर्स्थापना, धर्मनिरपेक्षताको खारेजी र नेपाललाई हिन्दुराज्य घोषणा गरिनुपर्ने लगायतका माग राप्रपाको रहेको छ ।

विरोध प्रदर्शन काठमाडौँ, २७ चैतः राष्ट्रिय प्रजातान्त्र पार्टीले मङ्गलबार काठमाडौँको भद्रकालीमा गरेको विरोध प्रदर्शन । तस्बिरः हरिराम भेटुवाल÷रासस

यसअघि नै राप्रपाले सरकारलाई ४० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्रमा उल्लेख भएका मागहरु पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको राप्रपाले आज काठमाडौं केन्द्रीत जनप्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी हुन देशभरबाट उल्लेख्य संख्यामा राप्रपाका समर्थकहरु आएका छन् ।



प्रतिक्रिया दिनुहोस्