Logo

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा कांग्रेस र एमाले भिड्ने



काठमाडौं,२७ चैत । भोलि हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा २ जनाको मनोनयन दर्ता भएको छ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी र सत्तारुढ दल नेकपा एमालेबाट विमला घिमिरेले मनोनयन दर्ता गरेकी हुन् ।

घिमिरेको प्रस्तावकमा एमाले राष्ट्रिय सभाकी प्रमुख सचेतक भगवती न्यौपाने रहेकी छन् भने समर्थनमा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामी रहेका छन् । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट मनोनयन दर्ता गरेकी पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् । यी दुवै सांसद कांग्रेसका हुन् ।

सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार रहेकी घिमिरेको जित निश्चित जस्तै रहेको छ । सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो। तर नेकपा (एकीकृत समाजवादी) ले पनि उपाध्यक्ष आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको थियो।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो विषयमा छलफल भएको थियो । बिहान भएको सत्ता गठबन्धनको बैठकमा समेत एकीकृत समाजवादीले उपाध्यक्षको दाबी कायमै रहेको जनाएको थियो । तर, एमोल अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले उम्मेदवार टुंगो लगाईसकेको जानकारी गराउँदै उम्मेदवार नउठाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए । ओलीको आग्रहपछि नेपालले आफ्नो पार्टीले उम्मेदवार नउठाउने बताएका थिए ।

माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस्