Logo

गृहमन्त्री लामिछानेविरुद्ध सडकमा राप्रपा, सदनमा कांग्रेस



काठमाडौं, २७ चैत । नेपाली कांग्रेसको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयकको संशोधन प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको थियो । सहकारी ठगी प्रकरणमा मुछिएको र लामिछाने गृहमन्त्रीमा रहिरहँदा छानविन प्रभावित हुने कांग्रेसको निश्कर्ष छ । गृहमन्त्री लामिछानेमाथि लागेको आरोप निश्पक्ष छानविनका लागि संसदीय समिति बन्नुपर्ने कांग्रेसको माग छ । यसअघि बैठक सुरु भएपछि केही समय विरोध जनाउँदै आएको कांग्रेसले आज भने संसद् अवरोध नै गर्यो ।

कांग्रेसका अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि बैठक स्थगित गरेका थिए । बैठक स्थगित गरेर सहमति जुटाउन प्रयास गरेका घिमिरेले अन्ततः संसद् बैठक नै स्थगित गर्नुपर्यो ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा जनप्रदर्शन गरेको छ । राप्रपाले सरकारलाई चुनौति दिँदै निषेधित क्षेत्रसमेत तोडेर अगाडि बढेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सीको वातावरण निर्माण भयो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छन् । उनले आफूहरुको ४० बुँदे मागमा गृहमन्त्रीको राजीनामा पनि थपिएर ४१ बुँदे बनेको उद्घोष गरे ।

लामिछानेविरुद्ध पोखरास्थिति सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ । उक्त सहकारी घोटला प्रकरणमा पोखरा माहानगरपालिकाले समिति नै बनाएर छानविन गरेको थियो । उक्त छानविन समितिले लामिछानेको संलग्नता रहेको निश्कर्ष निकालेको छ । साथै, लामिछाने गोरखा मिडिया प्रा.लि. द्वारा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनको प्रवबन्ध निर्देशक एवं शेयर धनी रहेको अवस्थामा गैरकानुनी तवरले सहकारीको अर्बौं रकम लगानी भएको भन्दै कांग्रेसले प्रश्न उठाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्