Logo

ललिता निवासको जग्गा हिनामिना शेरबहादुर देउवाको पालामा सुरु भएको होः स्वर्णिम वाग्ले



काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘ललिता निवासको जग्गा हिनामिना प्रकरणको सुरुवात अहिलेको विपक्षी दलका सभापति (शेरबहादुर देउवा) गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो’, उनले भने।

आफूहरूले २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र जाँचबुझ आयोग माग गर्दै आएको पनि वाग्लेले बताएका छन्।

‘ललिता निवास काण्डदेखि वाइडबडीसम्म कस-कसलाई जोगाइएको छ। यो सारा कुराको छानबिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय जाँचबुझ आयोग बनाउन आह्वान गर्दछ’, उनले भने।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्