काठमाडौं, २७ चैत । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालस्थित इजरायली राजदूत हनान गोदरबीच शिष्टाचार भेट भएको छ। आज (मंगलबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो।
भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गरे ।
नेपाल शान्तिको पक्षधर राष्ट्र भएको भन्दै अध्यक्ष दाहालले भने, “हामी सधैं मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौं । संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।”
लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताए ।
अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीहरुमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गरे । अध्यक्ष दाहालले अहिले पनि करिब ४ हजार नेपाली श्रमिकहरु इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गरे ।
इजरायलबाट नेपालमा उल्लेख्य पर्यटकहरु आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा जतिसक्यो धेरै इजरायली नागरिकहरुलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवद्र्धन गर्नमा योगदान गरिदिन समेत आग्रह गरे ।
सो अवसरमा इजरायली राजदूत हानन गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीय स्थलहरुका हिसाबले निकै धनी रहेको बताए । आफू लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको भन्दै राजदूतले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारा लगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यहरुले विश्वमै नेपालको पहिचान दिएको बताए ।
लर्न एण्ड अर्न कार्यक्रम आफूले नै पहल गरेर शुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताए । उनले दुर्भाग्यवस पछिल्लोपटक भएको घटनाबाट पीडितका घर घरमै पुगेर भेटेको बताए ।.इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको उनले बताए । उनले विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको जानकारी गराए ।