काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले आफूलाई गृहमन्त्रीले ‘स्पेसल कुटपिट गर्नु’ भनेर आदेश दिएको खुलासा गरेका छन् । राप्रपाले हिजो काठमाडौंमा गरेको वृहत जनप्रदर्शनका क्रममा उनी पक्राउ गरेका थिए । पक्राउ परेको बेला ‘गृहमन्त्रीले तपाईलाई स्पेसल कुटपिट गर्नु भनेर आदेश दिनु भएको छ’ भनेर आफूलाई फिल्डमा खटिएको डीएसपीले सुनाएको उनले बताए ।
‘गृहमन्त्रीज्यू सत्ता र शक्ति कहिले पनि स्थायी हुँदैन । मलाई दुःख लाग्ने थिएन, आन्दोलनमा तलमाथि हुन्छ । तर, डीएसपीले नै मलाई भने–तपाईँलाई स्पेसल कुटपिट गर्नुभन्ने आदेश छ भनेपछि । जब मैले फोन गरेँ, फोन उठेन,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले भने ।