Logo

आफ्नै पार्टीका मन्त्री डिपी अर्याललाई न्याय दिन गृहमन्त्री लामिछानेलाई कांग्रेस सांसदको आग्रह (भिडिओसहित)



काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नै पार्टीबाट मन्त्री बनेका डीपी अर्याललाई न्याय दिन आग्रह गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्री अर्यालले सहकारीबाट ठगिएँ भन्दा पनि गृहमन्त्रीको ध्यान नगएको भन्दै टिप्पणी गरका हुन् ।

श्रम तथा रोजगारमन्त्री रहेको अर्यालले आफूले एक सहकारीमा २३ लाख रुपैयाँ लगानी गरेको र सो सहकारीमा लगानी फसेको बताएका थिए । उनले यसो भनिरहँदा मन्त्री अर्यालमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागिरहेको थियो । आफूमाथि लागेको अरोपको खण्डण गर्दै उनले आफ्नै रकम उठाइदिने व्यक्तिलाई २÷३ लाख दिन्थेँ भनेर अभिव्यक्ति दिएका थिए ।

सांसद खतिवडाले मन्त्री अर्यालको सोही अभिव्यक्तिको आलोचना गर्दै कम्तिमा आफ्नै मन्त्रीलाई न्याय दिन गृहमन्त्री लामिछानेसमक्ष आग्रह गरेका हुन् । ‘एक जना मन्त्रीले मेरो २३ लाख रुपैयाँ ठगी भयो सहकारीमा भन्नुभएछ । गृहमन्त्रीलाई आफ्नै मन्त्रीले ठगी भयो भनेर भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन । कसले छानविन गर्ने हो त ? संसदीय समितिले नबने पछि । मेरो पैसा उठाइदिए २÷३ लाख दिन्थेँ भन्नु भएको रहेछ । पैसा उठाउँदा पनि पैसा दिनुपर्ने । कस्तो कुरा मन्त्रीले गरेको हो ?’ सांसद खतिवडाले प्रश्न गरे ।

साथै, गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको निश्पक्ष छानविन गर्नका लागि संसदीय समिति गठन हुनुपर्ने कांग्रेसको माग रहेको उनले बताए । संसदीय छानविन समिति बनाउन ढिला नगर्नसमेत उनले आग्रह गरे । संसदीय समिति बनाएर उक्त समितिले गरेको निर्णय स्वीकार गर्न सबै तयार हुनुपर्ने उनको भनाइ छ । ‘निश्पक्ष संसदीय छानविन समिति गठन होस् । फैसला सुनाउने अधिकार सरकारलाई छैन । संसद्को छानविन समितिले जे निर्णय गर्छ त्यसमा म तयार छु भनेर प्रस्तुत हुने वातावरण निर्माण गरियोस् । हामी संसद् अवरोध गर्न चाहन्नौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्