Logo

कोशी प्रदेश सभाको विशेष अधिवेशन वैशाख ६ गते आह्वान



काठमाडौं,२८ चैत। कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको आग्रहअनुसार आगामी वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा सरकार परिवर्तनको प्रयास सुरु भएको छ । एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सरकारले भने जेठ ११ गते नियमित अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष पत्राचार गरेको थियो । तर, सरकारको पत्रमा मिति गलत हुँदा फिर्ता भएको थियो । त्यसअघि नै विशेष अधिवेशनको समावेदन भएकोले आह्वान भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्