काठमाडौं, ३० चैत । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।
कानुन न्याय तथा संघीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा, सदस्यहरु राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सो आयोगले तोकेको तोकेको व्यक्ति, सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदिश शर्मा पौडेल, डा. अर्जुन कुमार कार्की र स्टेला तामाङ रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय भएको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् । File Photo/RN