Logo

संसद् बन्द गराएर सरकार अब झन नाङ्गेझार हुने भयोः मीन विश्वकर्मा (भिडिओसहित)



काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको मनलाई अपमान गरेर संसद् चलाउन नचाहेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले सहकारी ठगी प्रकरणमा आरोपी व्यक्तिलाई गृहमन्त्री बनाएर उनलाई बचाउन लागेर प्रधानमन्त्रीले जनताको जनमत र भावनामाथि कुठराघात गरेको बताएका हुन् । साथै, वर्तमान गृहमन्त्री लामिछाने गृहमन्त्री हुन लायक नभएको उनको आरोप छ ।

‘पहिलो कुरा त उहाँ गृहमन्त्री हुन लायक हुनुपर्यो । उहाँ गृहमन्त्री हुन नालायक हुनुभयो । कुनै पनि व्यक्ति कुनै कसुरमा आरोपित छ । त्यो आरोपित व्यक्तिलाई प्रहरीले अनुसन्धान गर्दैछ । त्यस्तै व्यक्तिलाई गृहमन्त्री बनाइदिएपछि त संसद्मा मात्रै होईन । गाउँ–गाउँमा, जन–जनबाट मन–मनबाट र टोल–टोलबाट नै उहाँलाई बहिस्कार गर्नुपर्छ । गृहमन्त्रीले बोल्न पाउनु हुन्छ । गृहमन्त्री पनि जनताकै प्रतिनिधि हो ।’ उनले भने, ‘तर, कस्तो प्रतिनिधि त भन्दा जनताको पैसा ठगी गरेको आरोपमा प्रहरी अनुसन्धान गरिरहेको व्यक्तिलाई नै गृहमन्त्री बनाइदिनु भनेको त स्वयं प्रधानमन्त्रीले नै यो संसद् चलाउन नचाहेको, यो सरकारलाई लामो समयसम्म लान नचाहेको, जनताका भावनामाथि कुठराघात गरेको र अन्तर्राष्ट्रिय समुदायका बीचमा आरोपित व्यक्ति जसले जे कसुर गरेको छ, त्यही अनुसन्धान गर्ने मन्त्रालयको प्रमुख बनाइदिने देश भनेर हसीमजाक गर्नु भएको छ ।’

सहकारी ठगी प्रकरणमा कांग्रेसले उठाएको संसदीय समितिको एजेण्डामा सत्तारुढ दल नेकपा (एमाले) का पनि धेरै नेताहरु सहमत रहेको उनको दाबी छ । नेता विश्वकर्माले संसदीय समिति बनाउने कुरामा सरकार अल्पमतमै रहेको बताए । उनले सरकारले बाध्य भएर संसदीय समिति बनाउनै पर्ने बताए ।

संसद् बन्द गरेर गृहमन्त्रीमाथि लागेको अभियोगबाट उन्मुक्ति नपाइने उनले बताए । सरकार अब नाङ्गेझार हुने उनको चेतावनी छ ।
‘संसद् बन्द गरिसकेपछि मानिसहरु आरोपबाट भाग्न पाउने भए, सरकार भाग्न पाउने भए त सायद, पञ्चायती व्यवस्था नै ठीक थियो होला । संसद्मा कुनै आवाज पनि उठ्दैन थियो होला । जनताका प्रतिनिधिको थलो पो बन्द भयो त ।’ उनले भने, ‘जनताको थलो त बन्द भएको छैन । जनताको थलो भनेको चोक, चौतारी, बाटोमा, सार्वजनिक स्थलमा जुनसुकै स्थानमा पनि हामीले अब झन संसद्मा बोल्न नपाएपछि अब आमसभामा बोल्ने भयौं, कोणसभामा बोल्ने भयौं । सार्वजनिक स्थलहरुमा बोल्ने भयौं । अब सरकार झन कहाँ रहने भयो र ? सरकार अब त नाङ्गेझा हुने भयो । भण्डाफोर हुने भयो ।’ File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot